पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो, १० कट्ठामा लगाइएको गाँजा नष्ट
पर्सा | कात्तिक १५, २०८१
पर्सा: पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।
इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ ।
पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन । पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गर्नुभयो ।
“पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन सकेको छैन ।”
यद्यपि पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको छ । प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ ।
पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ ।
गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताउनुभयो ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

